पढाइसँगै सीप : आत्मनिर्भर र स्वावलम्बी बन्दै सिन्धुलीका बहिरा विद्यार्थी
सिन्धुली, साउन १९-
अपाङ्गता भएका विद्यार्थीलाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले श्री नवज्योति बहिरा माध्यमिक विद्यालय, कमलामाई नगरपालिका–६, जसेदमारमा अध्ययनरत बहिरा विद्यार्थीका लागि सञ्चालन गरिएको व्यावसायिक सीप तालिमपछि दुई वटा व्यवसाय सञ्चालनमा आएका छन्।
प्लान इन्टरनेशनल नेपाल र ह्याण्ड्स नेपालको साझेदारीमा सञ्चालित बालिका सशक्तिकरण परियोजना अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको रुचि र क्षमता मूल्याङ्कन गरी छनोट भएका २१ जना बहिरा विद्यार्थीलाई दुई महिनासम्म होटल व्यवस्थापन (कुक, वेटर तथा हस्पिटालिटी) र ब्युटिसियन तथा हेयर पार्लर सम्बन्धी व्यावसायिक तालिम प्रदान गरिएको थियो।
शिक्षामा सीप एकीकरणको अवधारणाअनुसार उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिमपछि विद्यार्थीहरूलाई स्वरोजगारतर्फ अग्रसर गराउने उद्देश्यले कमलामाई नगरपालिका–६, लक्ष्मणचोक–रामेश्वरधाम क्षेत्रमा ‘द क्वाइट बाइट होटल एण्ड रेष्टुरेन्ट’ तथा ‘साइन एण्ड साइन युनिसेक्स पार्लर’ सञ्चालनमा ल्याइएको हो।
कार्यक्रममा सहभागी उद्यमी विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि प्रति विद्यार्थी करिब १ लाख रुपैयाँ बराबरका आवश्यक उपकरण तथा सामग्री समेत हस्तान्तरण गरिएको छ। परियोजनाले उपलब्ध गराएको सामग्रीले व्यवसाय सुरु गर्न सहज भएको सहभागीहरूले बताएका छन्।
उद्घाटन समारोहमा बोल्दै कमलामाई नगरपालिका–६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाले सीपमा आधारित शिक्षाले अपाङ्गता भएका विद्यार्थीलाई आत्मनिर्भर बनाउने मात्र नभई समाजमा सम्मानजनक पहिचान स्थापित गर्न समेत टेवा पुग्ने बताउनुभयो। यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
तालिममा सहभागी रमिला घलानले तालिमले आफूभित्र आत्मविश्वास बढाएको बताउँदै परियोजनाको सहयोगपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने साहस प्राप्त भएको प्रतिक्रिया दिइन। “पहिले भविष्यप्रति अन्योल थियो, अहिले आफ्नै सीपको आधारमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने विश्वास बढेको छ,” उनले बताइन।
त्यसैगरी बिधार्थी मुस्कान सापकोटाले तालिम र व्यवसाय सञ्चालनका लागि प्राप्त सामग्रीले आफ्नो सपना साकार पार्ने आधार तयार भएको बताए। “अब अरूको रोजगारी खोज्ने होइन, आफैं उद्यमी बनेर अघि बढ्ने हिम्मत आएको छ। सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरेर सफल बन्ने लक्ष्य लिएको छु,” उनले बताए।
आयोजकका अनुसार अपाङ्गता भएका विद्यार्थीलाई शिक्षासँगै सीप, उद्यमशीलता र आर्थिक आत्मनिर्भरतामा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यसले बहिरा विद्यार्थीलाई रोजगारी सिर्जना गर्नुका साथै समाजमा उनीहरूको क्षमता र योगदानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
२०६० सालमा स्थापना भएकाे नबज्याेति बहिरा माबिमा कक्षा १२ सम्म अध्यापन हुने गरेकाे छ । ३२ जिल्लाका २ सय ५ जना बिधार्थिहरू पुर्ण निशुल्क रूपमा अध्यन गरिरहेका छन । विभिन्न संघ/संस्थाहरूसँगकाे सहकार्यमा बहिरा बिधार्थीहरूलाई शिक्षा पछि समाजमा बेराेजगार भएर बस्न नपराेस भन्ने उदेश्यले आत्मनिर्भर बनाउन शिक्षासँगै सीप कार्यक्रम अन्तर्गत रुचि अनुसार विभिन्न खालका ब्यवसायीक तालिम प्रदान गरिएकाे बिधालयका प्रधानाध्यापक बिजय तामाङले बताउनु भयाे ।
बहिरा विद्यार्थीहरूलाई शिक्षासँगै व्यावसायिक सीप र उद्यमशीलतामा जोड्ने यस्ता पहलले उनीहरूलाई सम्मानजनक रोजगारी र स्वावलम्बी जीवनतर्फ अग्रसर गराउने मात्र होइन, अपाङ्गता भएका व्यक्तिको क्षमता र योगदानप्रतिको समाजको दृष्टिकोण परिवर्तन गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएकाे छ ।



