गाउँघरका आवाज

सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १६ सदस्य पोखरामा फेला

सिन्धुली, छेत्पा — सिन्धुलीको गोलन्जर गाउँपालिका–६ छेत्पा नजिकको भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएका उर्मिला हायूको परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीको समन्वयमा उनीहरू पोखरा महानगरपालिका–३० स्थित दुई छुट्टाछुट्टै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुबेढीका अनुसार, ती परिवारका सदस्यहरू गत शनिबार पोखरा पुगेका थिए। उनीहरू सो दिन नै लेकसाइडस्थित होटल जननीमा तीन वटा कोठा भाडामा लिएर बसेका थिए। होटल सञ्चालक सुनिल भूर्तेलका अनुसार, राति होटलमा बसेपछि उनीहरूले गगनगौंडा क्षेत्रमा रहेको स्थानीय बासिन्दाको घरमा शरण लिएका थिए।

उनीहरूले साउन १० गते राति १ बजे मधेश प्रदेश ०४–००१ ज ००८१ नम्बरको इभी भ्यान चढेर सिन्धुलीको खनियाँखर्क हुँदै हेटौंडा–मुग्लिन मार्ग पार गरेर पोखरा पुगेका थिए। प्रहरीका अनुसार, भ्यान चालक जीवनले उनीहरूलाई पोखराको जननी होटलमा पुर्‍याएर छाडेका थिए।

होटलबाट निस्किएपछि हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा क्षेत्रका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेका थिए। आफूहरू ज्यामी काम गर्न आएको भन्दै उनीहरूले ती घरहरूमा शरण लिएका थिए। प्रहरीले उनीहरूलाई त्यहीँ भेटेको हो।

परिवार सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुली, प्रहरी कार्यालय रामेछाप तथा स्थानीय जनप्रतिनिधिहरू समेत परिचालित भई खोजी अभियान चलाइएको थियो। उनीहरूको मोबाइल अन्तिम पटक रामेछापको सिमन्दीछाप भन्ने स्थानमा लोकेट गरिएको थियो।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा प्रहरी टोलीले रामेछापका हायू समुदायका घर–घरमा पुगेर सोधपुछ समेत गरेको थियो। तर अन्ततः उनीहरू पोखरामा फेला परेका हुन्।

प्रहरी स्रोतका अनुसार, हायू परिवारले स्वास्थ्य समस्या भएकाले नयाँ ठाउँ खोज्दै पोखरा आएको बताएका छन्। “सिन्धुलीमा बारम्बार बिरामी परेपछि हामी नयाँ ठाउँ खोज्न पोखरा आएका हौं,” उनीहरूले प्रहरीसमक्ष बताएका छन्।

उपचारका लागि अस्पताल जान समेत असहज भएकाले त्यहाँबाट सरेको उनीहरूको भनाइ छ।

हाल उनीहरू इलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा छन्। कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामबाबु ओलीका अनुसार, उनीहरूले सिन्धुली फर्कन अस्वीकार गरेका छन्। “उनीहरूले अब त्यहाँ फर्कन सक्दैनौं, यहीँ बसेर काम गर्न चाहन्छौं भनेका छन्,” ओलीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button