ताजा समाचार

विदेशमा रहेका नेपालीको विवरण ‘श्रम संसार एप’मा

सिन्धुली, असार १२, श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरूको विवरण संकलन गर्ने उद्देश्यले सरकारले ‘श्रम संसार एप’ सञ्चालनमा ल्याएको छ। यो एप संसारभरि रहेका नेपालीहरूको सूचना एकीकृत रुपमा संकलन गर्न उपयोगी हुनेछ।

परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एपको संयुक्त रूपमा उद्घाटन गरे।

परराष्ट्रमन्त्री राणाका अनुसार वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली सूचना अभावका कारण ठगिने, पीडित हुने र समस्यामा पर्ने गरेका छन्। अब यो एपमार्फत उनीहरूको स्थिति र संख्या थाहा पाउन सकिने भएकाले कन्सुलर सेवा तथा उद्धार कार्य गर्न सहज हुनेछ।

मन्त्री राणाले भने, “श्रम स्वीकृति नलिइ श्रम गन्तव्य मुलुकमा पुगेका नेपालीहरूलाई दूतावासबाटै वैधानिकीकरण श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ। यो अवैध रूपमा जानेलाई प्रोत्साहन होइन, बरु सुरक्षाको उपाय हो।”

श्रममन्त्री भण्डारीले यो एप र वैधानिकीकरण श्रम स्वीकृतिले विदेशमा रहेका श्रमिकहरूको संरक्षणमा सहयोग पुग्ने बताए। उनले भने, “को कहाँ, कति नेपाली छन् भन्ने जानकारीसँगै कागजविहीन, समस्यामा परेका श्रमिकलाई सेवा उपलब्ध गराउन यो एप उपयोगी हुनेछ।”

‘श्रम संसार एप’मा विदेशमा रहेका नेपालीले आफैंले आफ्नो नाम, ठेगाना, मुलुक, पेशा आदि विवरण दर्ता गर्न सक्नेछन्। उक्त विवरण परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा सम्बन्धित देशका नेपाली दूतावासले अद्यावधिक गर्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button