भोलिदेखि देशै भरी SEE परीक्षा सुरु, सबै तयारी पूरा

सिन्धुली, चैत १८ — भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) लाई लक्षित गर्दै राष्ट्रिय परिक्षा बोर्ड तथा सम्बन्धित निकायहरूले देशभरि तथा सिन्धुली जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छन्। यस वर्षको SEE परीक्षा चैत १९ गते देखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुने तय गरिएको छ।
सिन्धुली जिल्लामा पनि परीक्षा केन्द्र निर्धारण, जनशक्ति व्यवस्थापन तथा सामग्री वितरणलगायतका सबै काम सम्पन्न भइसकेको सम्बन्धित निकायले जनाएको छ। परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
यस वर्ष देशभरबाट करिब ५ लाख १० हजारभन्दा बढी विद्यार्थीहरू SEE परीक्षामा सहभागी हुने भएका छन्। अघिल्लो वर्षको तुलनामा परीक्षार्थी संख्या केही घटेको भए पनि सहभागिता अझै उच्च रहेको छ।
परीक्षा सञ्चालनका लागि देशभर १,९७२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ, जसमा सिन्धुलीका विभिन्न विद्यालयहरू पनि समावेश छन्। सबै परीक्षा केन्द्रहरूमा केन्द्राध्यक्ष, निरीक्षक तथा सहयोगी कर्मचारी खटाइएको छ भने आवश्यक सुरक्षा व्यवस्था पनि मिलाइएको छ।
परीक्षा मर्यादित र निष्पक्ष बनाउन विशेष ध्यान दिइएको छ। परीक्षा केन्द्रभित्र मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। अघिल्ला वर्षहरूमा देखिएका अनियमितता तथा नक्कल नियन्त्रण गर्न यस वर्ष अझ कडा अनुगमन गर्ने तयारी गरिएको छ।
यसैबीच, प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सम्पूर्ण परीक्षा सामग्री सबै जिल्लामा पुर्याइसकिएको छ। परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति परिचालन, सुरक्षा व्यवस्थापन तथा केन्द्र व्यवस्थापनको काम पूरा भएको बोर्डले जनाएको छ।
यस वर्षको SEE परीक्षा अघिल्ला वर्षहरूको तुलनामा करिब १२ दिन ढिलो गरी सञ्चालन हुन लागेको हो। संघीय निर्वाचनका कारण परीक्षा तालिका पछि सारिएको थियो।
भोलि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने त्यसपछि क्रमशः अन्य विषयहरूको परीक्षा हुनेछ।




