सबै

आत्मनिर्भर नेपालको एजेन्डासहित स्याङतान चुनावी मैदानमा

सिन्धुली, ७ गते —
डा.बाबुराम भट्टराईको प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा उम्मेदवार निर्मल स्याङतानले बुधबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै आत्मनिर्भर नेपाल निर्माण नै आफ्नो मुख्य राजनीतिक एजेन्डा रहेको बताएका छन्। स्याङतान फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुन्।

पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार स्याङतानले आफूले लामो समय विदेशमा बिताएको अनुभव स्मरण गर्दै विदेशमा श्रम गर्न बाध्य नेपालीले भोग्नुपरेको पीडा नजिकबाट देखेको बताए। “मैले विदेशमा रहँदा नेपाली श्रमिकको दुःखलाई नजिकैबाट नियालेको छु। कुवेतमा समस्यामा परेका नेपालीको उद्धारका लागि संगठन नै बनाएर धेरैलाई सहयोग गरेको छु,” उनले भने।

नेपाल प्राकृतिक रूपमा स्वर्गजस्तै भए पनि नेपाली नागरिकले आफ्नै देशमा बस्न र कमाउन नसक्नु दुःखद् भएको स्याङतानको भनाइ थियो। “नेपालमा व्यवसाय, व्यापार र उद्योगमा लगानी गर्ने वातावरण सरकारले बनाउन सकेको छैन। देशमा शान्ति र सुरक्षाको प्रत्याभूति छैन, जसका कारण व्यवसाय धरासायी बन्दै गएका छन्,” उनले भने, “सरकार जवाफदेही छैन र जताततै भ्रष्टाचार तथा बेथिति मौलाइरहेको छ।”

देशको यो अवस्था देखेपछि आफू नेपाल फर्किएर राजनीतिमा सक्रिय भएको उल्लेख गर्दै स्याङतानले नेपाललाई आत्मनिर्भर बनाउने संकल्पसहित उम्मेदवारी दिएको स्पष्ट पारे। “नेपाली युवाले रोजगारीका लागि विदेशमा दुःख भोग्न नपरोस्, आफ्नै देशमा रमाएर बस्न, कमाउन र भविष्य बनाउन सकून् भन्ने उद्देश्यका साथ म यो निर्वाचनमा होमिएको हुँ,” उनले प्रतिबद्धता व्यक्त गरे। सोनाम सिं समानुपातिकका उमेदवार पनि हुन भने समानुपातिकका अर्का उमेदवार सिन्धुली कमलाई नगरपालिकाका विष्णु पौड्याल रहेका छन् ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभागका संयोजक सोनाम सिंह स्याङतानले नेपालका लोकतन्त्रवादी दलहरूले लोकतन्त्रको सही अभ्यास गर्न नसकेको आरोप लगाए। “लोकतन्त्रको नाममा अलोकतान्त्रिक परिपाटी मौलाउँदै गयो। त्यसकै कारण देशमा भ्रष्टाचार, बेथिति र विकृति बढ्दै गएका छन्,” उनले भने।

उनले आफूहरूले ती दलहरूको गलत अभ्यास पहिल्यै देखेर अलग राजनीतिक धार अपनाएको बताए। “प्रगतिशील लोकतान्त्रिक पार्टी लोकतन्त्रको सही अभ्यास गर्दै विकासमुखी राजनीति गर्न चाहन्छ। देश निर्माणका लागि शासकीय स्वरूप परिवर्तन अपरिहार्य भइसकेको छ,” सोनाम सिंहले बताए।

उनले प्रत्यक्ष निर्वाचित प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै अहिलेका ठूला दलहरू त्यसको विपक्षमा उभिएको टिप्पणी गरे। कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज एककुमार राणा र समानुपातिक उम्मेदवार विष्णु कुमार पौड्यालले पनि जनताको हितलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमार्फत प्रगतिशील लोकतान्त्रिक पार्टीले वैकल्पिक राजनीतिक धार, सुशासन र आत्मनिर्भर राष्ट्र निर्माणको एजेन्डासहित सिन्धुलीमा चुनावी मैदानमा उत्रिएको स्पष्ट सन्देश दिएको छ। लोकतान्त्रिक पाट्रीको चुनाव चिन्ह भने एउटा आँखा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button