भोटेकोशी बाढीपीडितको सहारा बन्दै सिन्धुली पाठशाला: रसुवा भोटेकोशी बाढी पिडितलाई ७० हजार बढी सहयोग
सिन्धुली २५
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कमलामाई नगरपालिका–४, ढुंग्रेवासस्थित सिन्धुली पाठशाला बोर्डिङ स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७० हजार ५ रुपैयाँ सहयोग गरेको छ। विद्यालयले उक्त सहयोग रकम कोषमा जम्मा गरेको भौचर जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा बुझाएको छ।
विद्यालयका संस्थापक निर्देशक वसन्तराज श्रेष्ठ र संस्थापक प्रिन्सिपल निराजन श्रेष्ठले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई सहयोग रकमको भौचर हस्तान्तरण गर्नुभएको हो। विपद्को यस कठिन समयमा पीडित नागरिकलाई मद्दत गर्नु सामाजिक दायित्व भएकाले शिक्षक, विद्यार्थी, कर्मचारी तथा विद्यालय प्रशासनको तर्फबाट रकम संकलन गरी योगदान गरिएको संस्थापक निर्देशक श्रेष्ठले जानकारी दिनुभयो। विद्यालयले यसअघि एन-प्याब्सनमार्फत पनि १५ हजार रुपैयाँ राहत सहयोग उपलब्ध गराइसकेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण सडक, पुल, विद्युत् आयोजनाका साथै रसुवा, धादिङ, गोर्खा र चितवनलगायतका जिल्लामा घरपरिवार र भौतिक संरचनामा व्यापक विनाश भएको छ। बाढी प्रभावित क्षेत्रबाट ठूलो संख्यामा मानिसहरूको उद्धार गरिए छ । क्षेतीग्रस्त स्थानवाट १ हजार ३५५ भन्दा बढीको शव फेला परेको छ भने करिब ५ हजार मानिस अझै सम्पर्कविहीन रहेका छन्।
रसुवामा आएको यस बाढीमा सिन्धुली जिल्लावासीहरू पनि ठूलो संख्यामा प्रभावित भएका छन्। तीमध्ये केही सम्पर्कमा आएका छन् भने केही अझै बेपत्ता रहेकाले प्रभावितहरूको पूर्ण विवरण यकिन हुन सकेको छैन। विपद्को यस घडीमा बाढीपीडितको मद्दतका लागि सिन्धुलीका स्थानीय पालिका, विभिन्न संघ-संस्था तथा व्यक्तिहरूले राहत एवं सहयोग प्रदान गरिरहेका छन्।



