गाउँघरका आवाज

सडक निर्माणको लापरबाहीले घ्याङलेखमा सिँचाइ कुलो पुर्दा धान रोपाइँमा बाधा, किसानको मेहनत बेकार जाने डर

सिन्धुली 
सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका टुनी भञ्ज्याङ क्षेत्रका किसानहरू असार महिनाको रोपाइँको चटारोमा खेतमा धान रोप्नुभन्दा कुलो सफा गर्नमै व्यस्त भएका छन्। हालै निर्माण गरिएको ग्रामीण सडकको छेउछाउमा जथाभावी छाडिएको गिटी, माटो र माथिबाट खसेको पहिरोले करिब डेढ किलोमिटर लम्बाइको सिँचाइ कुलो पूरिएको छ।

यसको प्रत्यक्ष असर किसानको खेतीपातीमा परेको छ। वर्षाको समयमै रोपाइँ गर्न नपाउँदा खेत सुक्न थालेका छन् भने धेरै किसानले खेत छोडेर कुलो सफा गर्न गल ,साबेल र ठेला समातेका छन्।

स्थानीय किसान कमल तमाङ्ग भन्छन्, “सडक बनाउँदा कुलोको ख्याल गरेनन्, न त संरक्षणकै सोच राखे। अब हाम्रो बालीको के हुने?” अर्का किसान माया तामाङ थप्छिन्, “हामीले कुलो खनिरहेका छौं, खेत रोप्न पाएका छैनौं। असार बित्यो भने सिजन गुम्छ।”

घ्याङलेख उपजाउ जमिनका रूपमा चिनिन्छ। यहाँ धान, मकै, गहुँ, तरकारी, फलफूल र अम्रिसोको राम्रो उत्पादन हुने गर्छ। विशेषगरी अजुवा भिरालो पाखामा हुने अम्रिसो खेतीले किसानहरूको आयमा ठूलो टेवा पु-याएको छ। तर सिँचाइ अभावका कारण उत्पादकत्वमा असर पर्ने खतरा देखिन थालेको छ।

स्थानीयवासीहरूका अनुसार सडक निर्माणका क्रममा न त कुलोको सुरक्षाका लागि प्रविधिक उपाय अपनाइयो, न त पहिरोको रोकथामको पूर्वतयारी गरियो। जसले गर्दा निर्माणपछि थुप्रिएको माटो वर्षासँगै बगेर कुलोमा थुप्रिएको हो।

“सडक निर्माण गराउने निकाय र निर्माण कम्पनी दुवैको लापरबाही हो,” स्थानीय समाजसेवी टेकबहादुर लामाले बताए, “किसानलाई अप्ठ्यारो पर्ने गरी काम हुनु हुँदैनथ्यो।”

यसरी कुलोमा अवरोध हुँदा रोपाइँ ढिला हुने मात्र होइन, उत्पादन पनि घट्ने निश्चित छ। किसानहरू समयमै खेतमा पानी पुर्‍याएर रोपाइँ सम्पन्न गर्न चाहन्छन् तर अहिलेको अवस्था हेर्दा उनीहरूको मेहनत खेर जान सक्ने सम्भावना देखिएको छ।

अब स्थानीय सरकार र सरोकारवाला निकायले तत्काल हस्तक्षेप नगरे कृषकले वर्षको सिङ्गो बाली गुमाउन सक्ने चिन्ता व्यक्त गरिँदैछ। किसानहरूले निर्माण सम्पन्न भएका सडकहरूको नजिक कुलो संरक्षण, नाली व्यवस्थापन र पहिरो नियन्त्रणका उपाय अविलम्ब गर्न माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button