ताजा समाचारसबै

वि.पी.राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक, यात्रु सुरक्षामा प्रशासनको कडाई

सिन्धुली, भदौ १७
निरन्तरको वर्षाका कारण सडकमा हुन सक्ने सम्भावित दुर्घटना तथा विपद्को जोखिम न्यूनीकरण गर्न सिन्धुली जिल्लामा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले आइतबार सार्वजनिक गरेको सूचनामा वि पी राजमार्गको काठमाडौं–सिन्धुली–खुर्कोट सडकखण्ड हुँदै सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनलाई तोकिएको समयबाहेक सञ्चालन नगर्न आग्रह गरिएको छ।

यसअघि २०८२ साल साउन १ गतेदेखि लागू गरिएको रात्रीकालीन सवारी रोकसम्बन्धी निर्णयलाई निरन्तरता दिँदै भदौ १५ गते बसेको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले पुनः व्यवस्था कायम गर्ने निर्णय गरेपछि सिन्धुली जिल्ला प्रशासनले सुचना जारी गरेको हो ।

निर्णयअनुसार भदौ १६ गतेदेखि लागू हुनेगरी प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक/ निजी यात्रु वाहक सवारी साधनलाई सञ्चालनमा पूर्ण प्रतिबन्ध गरिएको छ । सो समयावधिमा यात्रुवाहक, मालबाहक तथा निजी सवारी साधन सञ्चालनमा रोक लाग्ने जिल्ला प्रशासनले जनाएको छ।

प्रशासनले यात्रु तथा चालकलाई तोकिएको समयतालिका पालना गर्न र यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। सडकमा हुने संभावित भूस्खलन, दुर्घटना र अन्य विपद् जोखिमलाई कम गर्न सो निर्णय अपरिहार्य/ आवास्यक भएको कार्यालयको भनाइ छ।

जिल्ला प्रशासनले यस्ता प्रतिबन्धात्मक व्यवस्था यात्रुहरूको जीवन रक्षाका लागि आवश्यक रहेको भन्दै सबै सरोकारवालासँग सहयोग अपेक्षा गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button