वि.पी. राजमार्गमा रात्रीकालीन यातायात रोक, उच्च सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

सिन्धुली, असोज १६
आगामी केही दिनसम्म देशका विभिन्न प्रदेशमा ठूलो वर्षा हुने मौसमविद्हरूको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उच्च सतर्कता अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ।
प्रशासनले मंगलबार प्रकाशित सूचनामा असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख छ। सो अवधिमा बाढी, पहिरो, डुबान तथा सडक यातायातमा अवरोध सिर्जना हुन सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ। साथै, मौसम विज्ञान महाशाखाले जारी गरेको पूर्वानुमानलाई आधार मानी सुरक्षाकर्मी, स्थानीय तह र विपद् व्यवस्थापन निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रशासनले जनाएको छ।

यसै क्रममा, सिन्धुली प्रशासनले वि.पी. राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्ठेबेसी हुँदै सिन्धुली खण्डमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाएको छ। असोज १६ देखि २० गतेसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन नपाइने निर्णय गरिएको छ। सो क्षेत्र बाढी र पहिरोको उच्च जोखिममा रहेकोले यात्रु सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले स्पष्ट पारेको छ।
नदी किनार, खोला–नाला आसपास तथा डुबान हुने क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सतर्क रहन, आवश्यक परे सुरक्षित स्थानमा सर्न र अनावश्यक यात्राबाट जोगिन आग्रह गरिएको छ। साथै, ट्राफिक प्रहरीको निर्देशन पालना गर्न र विपद् व्यवस्थापनका नियमहरूमा सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले, “सबै नागरिकले सतर्कता अपनाई सुरक्षित रहनु नै हाम्रो प्राथमिकता हो” भन्दै बाढी, पहिरो जस्ता प्राकृतिक विपद्बाट जोगिन आ–आफ्नो क्षेत्रमा सचेत रहन आग्रह गर्नुभएको छ।
