कमलामाईमा बहुस्तरीय बहुकक्षीय (MGML) कार्यक्रम सम्पन्न
कमलामाई, माघ २७ —
कमलामाई नगरपालिकामा बहुस्तरीय तथा बहुकक्षीय (Multi Grade Multi Level – MGML) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अतिथी नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित यस कार्यक्रममा नगरपालिका–५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का र शिक्षा शाखाका प्रमुख नवराज बराल विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय विशिष्ट व्यक्तित्वहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफ्नो व्यावहारिक ज्ञान र सीपलाई प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए। यसमा माइन्ड टेस्ट खेल, हस्तकला गतिविधि, र सिर्जनात्मक सामग्रीहरूको प्रदर्शनी गरियो। विद्यार्थीहरूले उत्साहपूर्वक आफ्ना कला, प्रतिभा र सिकाइ उपलब्धिहरू प्रदर्शन गरे, जसले सहभागीहरूबाट प्रशंसा प्राप्त गर्यो।
विद्यालयका प्रधानाध्यापक सावित्रा थपमगरका अनुसार, उक्त कार्यक्रम नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो। उनले उल्लेख गरे कि MGML कार्यक्रमले विद्यार्थीहरूको व्यवहारिक सीप, सिर्जनात्मक क्षमता र आत्मविश्वास विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

कार्यक्रमले शिक्षा प्रणालीमा व्यावहारिक र अनुभवात्मक शिक्षाको महत्व उजागर गरेको छ भने विद्यार्थी, शिक्षक र अभिभावकबीच सकारात्मक संवादको अवसर पनि प्रदान गरेको छ। MGML कार्यक्रमले स्थानीय तहमा गुणस्तरीय शिक्षा र बालबालिकाको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



