ताजा समाचार

अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन जुत्ता बनाउने तालिम सम्पन्न

सिन्धुली, २९

अपाङ्गता भएका व्यक्तिहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको जुत्ता बनाउने १५ दिने तालिम कार्यक्रम बुधबार सिन्धुलीमा सम्पन्न भएको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा कमलामाई नगरपालिकाको समन्वयमा अपाङ्ग कल्याण संघ सिन्धुलीले तालिम सञ्चालन गरेको हो।

कमलामाई नगरपालिका–५ शिवनगरस्थित हलमा आयोजित तालिममा मूलतः २० जनाको कोटा भए पनि सहभागीहरूको उत्साह र इच्छाका कारण २६ जना अपाङ्गता भएका व्यक्तिहरूले तालिममा सहभागिता जनाएका थिए। समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिम अवधिमा तयार पारेका विभिन्न प्रकारका जुत्ताहरू प्रदर्शन गरेका थिए। साथै जुत्ता बनाउने मेसिन, औजार तथा प्रयोग हुने सामग्रीहरूको समेत प्रदर्शनी गरिएको थियो।

समापन कार्यक्रममा कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि मनोहर कार्की र प्रेम संजेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कमलामाई नगरपालिकाको सामाजिक शाखा प्रमुख इन्दिरा थापा र उद्यम विकास शाखाकी रिता परियार कार्कीको पनि उपस्थिति रहेको थियो।

तालिममा सहभागीहरु आफुले बनाएको जुत्त संग समापन कार्यक्रममा

कार्यक्रममा बोल्दै उपमेयर देवकोटाले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप प्रदान गरेर उनीहरूको क्षमता, साहस र आत्मविश्वास अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले शारीरिक रूपमा असक्त भए पनि अवसर पाए अपाङ्गता भएका व्यक्तिहरू देशका योग्य र कर्मशील नागरिक बन्न सक्ने बताउँदै “अपाङ्गता भएका व्यक्तिलाई दया होइन, अवसर देऊ” भन्ने सन्देश मननयोग्य रहेको उल्लेख गर्नुभयो। साथै स्थानीय तहले पनि सीपमूलक तालिममार्फत रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि मनोहर कार्कीले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाएर रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार चितवन, मकवानपुर र सिन्धुली जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सीप विकास तथा आयआर्जनमा सहयोग पुग्ने विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

समापन पछि अपाङ्ग कल्याण संघका कार्य समिती, प्रशिक्षक र प्रशिक्षार्थीहरु

कार्यक्रममा मन्तव्य राख्दै प्रशिक्षार्थी संगिता लामाले तालिमले आफूहरूलाई नयाँ सीप सिक्ने अवसर दिएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीप प्रयोग गरी भविष्यमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो।

तालिमका प्रशिक्षक इन्द्रबहादुर आछामीले सहभागीहरूले छोटो अवधिमै जुत्ता बनाउने आधारभूत सीप राम्रोसँग सिकेको बताउनुभयो। सहभागीहरूको इच्छाशक्ति निकै राम्रो रहेको उल्लेख गर्दै उहाँले लामो अवधिको तालिम पाए उनीहरू व्यावसायिक रूपमा जुत्ता उत्पादन गर्न सक्षम हुने बताउनुभयो। आफू पनि शारीरिक रूपमा अपाङ्ग भए पनि मेहनत र कर्मशीलताका कारण जुत्ता बनाउने सीपमार्फत आत्मनिर्भर जीवन जिउन सफल भएको अनुभव उहाँले साझा गर्नुभयो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव ठाकुर दाहालले गर्नुभएको थियो। उहाँले यस्ता सीपमूलक कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमको अवसर प्रदान गर्न आग्रह गर्नुभयो।

तालिम अवधिभर सहभागीहरूलाई जुत्ता बनाउने विभिन्न प्रविधि, सामग्रीको प्रयोग, मेसिन सञ्चालन तथा जुत्ता डिजाइनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। आयोजकका अनुसार तालिमबाट प्राप्त सीपले सहभागीहरूलाई सानो व्यवसाय सुरु गर्न तथा आयआर्जन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

अपाङ्ग कल्याण संघ सिन्धुलीका अध्यक्ष टेकबहादुर थापा मगरले आगामी दिनहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो। उहाँले कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग तथा समन्वय गरिदिएकोमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र कमलामाई नगरपालिकाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अवसरहरू उपलब्ध गराइदिन आग्रह गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button