सिन्धुलीमा भव्य रूपमा मनाइयो संविधान दिवस
सिन्धुली ३ गते अशोज,
देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ। संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै शनिबार सिन्धुलीमा पनि प्रभातफेरी, कोणसभा तथा साँझ दीप प्रज्वलनलगायतका कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको हो।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ जिल्ला स्तरीय समितिको आयोजनामा कमलामाई नगरपालिका–६ जुनारचोक क्षेत्रबाट प्रभातफेरी निकालिएको थियो। प्रभातफेरी बजार क्षेत्र परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संविधान निर्माणका लागि भएका आन्दोलन तथा संघर्षमा ज्यान गुमाउने सहिदहरूको योगदानको स्मरण गर्दै संविधानको मर्म र भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूले संविधानमा व्यवस्था गरिएका अधिकार र व्यवस्थाको अक्षरशः पालना गर्दै देश तथा जनताको समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
यसै अवसरमा कमलामाई नगरपालिका–६ स्थित नवज्योति बहिरा भएका बालबालिकालाई लक्षित गरी शैक्षिक तथा द्यामाध्यमिक विलयमा बहिरा तथा श्रवणसम्बन्धी अपाङ्गता खेलकुद सामग्री वितरणसँगै निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि, प्रशासनिक अधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

जिल्ला समन्वय समितिका अनुसार संविधान दिवसकै अवसरमा साँझ दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको छ। विसं २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै आएको छ।
यस वर्षको संविधान दिवसले संविधानको कार्यान्वयन, नागरिक अधिकारको संरक्षण, सुशासन, समावेशिता र विकासका लागि सबै पक्षबीच सहकार्यको आवश्यकतालाई पुनः स्मरण गराएको छ।



