धनतेरस आज : सुनचाँदी तथा भाँडाकुँडा किनमेल गर्नेको चहलपहल
सिन्धुली कार्तिक २०,
आज हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व धनतेरस आज देशभर मनाइन्छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरसमा धन, समृद्धि र आरोग्यका देवता भगवान् धन्वन्तरीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी, भिमान, खुर्कोट, दुधौली, चकमकेलगायतका बजार क्षेत्रमा तिहार लक्षित किनमेल र सजावटले रौनक थपिएको छ । धनतेरसका अवसरमा सुन, चाँदी, तामा, पित्तललगायत धातुका सामग्री तथा नयाँ भाँडाकुँडा खरिद गर्ने परम्पराअनुसार सर्वसाधारणले आफ्नो क्षमताअनुसार सामग्री खरिद गर्ने बजारमा घ्युइँचो रहेको थियो ।
धनतेरसका अवसरमा सुन, चाँदी, तामा, पित्तल तथा अन्य धातुका भाँडाकुँडा र नयाँ सामग्री खरिद गर्ने चलन छ । यस दिन नयाँ वस्तु खरिद गर्दा घरमा सुख, शान्ति र समृद्धि भित्रिने धार्मिक विश्वास रहेको छ ।
यस वर्षको धनतेरसमा सुनको मूल्य उच्च रहेकाले उपभोक्तालाई भने किनमेल महँगो पर्ने देखिएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको थियो। एकै दिन १३ हजार ३ सय रुपैयाँले मूल्य बढेपछि सुनका गहना तथा सिक्का खरिद गर्ने उपभोक्ता प्रभावित भएका छन्।
नेपाल राष्ट्र बैंकले पनि तिहारलाई लक्षित गर्दै सुनका असर्फी तथा चाँदीका सिक्का बिक्री सुरु गरेको छ।
धार्मिक मान्यताअनुसार धनतेरसका दिन साँझ घरको मूल ढोकाबाहिर दीप प्रज्वलन गरी यमदीपदान गर्ने चलन छ । धन्वन्तरीलाई स्वास्थ्य र आयुका देवताका रूपमा पूजा गरिन्छ भने कुबेर र लक्ष्मीको आराधना गरी घरपरिवारमा सुख, शान्ति र समृद्धिको कामना गरिन्छ ।
धनतेरससँगै तिहारको उल्लास सुरु भएको छ । घरआँगन सफा गर्ने, दीप प्रज्वलन गर्ने र परिवारका सदस्यसँग मिलेर पर्व मनाउने तयारीले बजार तथा बस्तीमा चाडपर्वको रौनक थपिएको छ ।



