कमलामाई नगरपालिकामा B2B तथा B2C सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली, बैशाख २३, — कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा “B2B and B2C Linkage Program” शीर्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम वडा नं. ६ का अध्यक्ष श्री उज्ज्वल कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगरपालिकाद्वारा प्रवर्द्धन गरिएका सक्रिय लघु उद्यमीहरू, नगर भित्रका थोक व्यापारी, डिलर, सफल व्यवसायी, विभिन्न व्यावसायिक समूह तथा सरोकारवाला निकायका प्रतिनिधिहरू गरी करिब ७० जनाको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख उद्देश्य लघु उद्यम, उद्योग र व्यापार क्षेत्रबीच समन्वय, सहकार्य तथा बजार प्रवर्द्धनका सम्भावनाहरूको पहिचान गर्नु रहेको थियो। ”B2B Linkage Program” भनेको एउटा कम्पनी वा उद्यमीले उत्पादन गरेको सामान वा सेवा ,अर्को उद्योग, कम्पनी वा संस्थालाई बिक्री गर्ने सम्बन्ध र B2C भनेको व्यापारीले सिधै ग्राहक वा उपभोक्तालाई बिक्री गर्नु हो । अर्थात उत्पादकले उत्पादन गरेको समानको बजार प्रर्बद्धन हुने रणनिति हो ।
जिल्ला लघु उद्यमी समूह संघकी अध्यक्ष रीता बोगटीले कमलामाई नगरपालिकाको पहलमा लघु उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई बजारसम्म पु-याउन “कोसेली घर” आवश्यक रहेको धारणा व्यक्त गर्दै यसको जिम्मेवारी नगरपालिका स्वयंले लिनुपर्ने प्रस्ताव राख्नु भयो ।
त्यस्तै, PN Doll House की प्रोप्राइटर पार्वती खड्काले सीप विकास तालिमहरू सञ्चालनपश्चात् त्यस सीपको प्रयोग र अरूलाई दक्ष बनाउने उद्देश्यले सीप परीक्षण (Skill Testing) गरिनु पर्नेमा जोड दिइन्।

कार्यक्रममा यस प्रकारको व्यवसायी रणनीतिक योजनाहरुहरुको बारेमा छलफल भए :
- दक्ष प्रशिक्षकहरूको तथ्याङ्क संकलन गरी ब्रोसर प्रकाशन गर्ने।
- विषयगत क्षेत्रमा मासिक B2B कार्यक्रम सञ्चालन गर्ने।
- स्थानीय उत्पादनलाई बजारसम्म पु-याउन “कोसेली घर” स्थापना गर्ने।
- दुग्धजन्य उत्पादनका लागि आवश्यक सीप विकास तालिम आयोजना गर्ने।
- रोजगारी सिर्जनासम्बन्धी तथ्याङ्क संकलन गरी नगरपालिकामा अभिलेख राख्ने।
- स्थानीय तहद्वारा सञ्चालित कार्यक्रमहरूको नियमित अनुगमन व्यवस्था गर्ने।
- सीप परीक्षणका लागि CTEVT सँग समन्वय गर्ने।
- व्यवसायमा ई–कमर्स प्रणालीको प्रयोग गर्न तालिम सञ्चालन गर्ने।
सहभागीहरूले व्यवसाय सञ्चालनमा लाग्ने समय, प्रक्रियागत झन्झट तथा कर सम्बन्धी जटिलतालाई औँल्याउँदै, एकीकृत कर प्रणाली लागू गर्न सुझाव दिएका थिए। साथै, साना व्यवसायीहरूका लागि करमा केही प्रतिशत छुट दिने व्यवस्था गर्न आग्रह गरेका थिए।
उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखा प्रमुख शुशिल कुमार वर्माले छलफलमा उठेका विषयवस्तुहरूलाई स्थानीय तहले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै, सम्भव भएसम्म मागहरू सम्बोधन गर्न सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता जनाए।
कार्यक्रमको सञ्चालन शाखाकै कर्मचारी रिता परियार कार्कीले गर्नुभएको थियो। उहाँले विभिन्न देशहरूमा सञ्चालन भएका B2B कार्यक्रमका नमूना भिडियोहरूमार्फत प्रस्तुति दिँदै, यस्तो कार्यक्रमले लघु उद्यमी र व्यापारीबीच सहकार्य, समन्वय, र उत्पादनलाई बजारसँग जोडिनु पर्ने धारणा राख्नु भयो ।
