सिन्धुलीमा पूर्व सुरक्षाकर्मी परिषद्को विशेष कार्यक्रम सम्पन्न
सिन्धुली, २ बैशाष –
नयाँ वर्ष २०८३ को अवसरमा पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, सिन्धुलीले कमलामाई नगरपालिका–४, ढुङ्ग्रेबासस्थित अनमोल होटलमा शुभकामना आदान–प्रदान तथा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पूर्व सुरक्षाकर्मीहरूबीच एकता, जिम्मेवारी र संगठनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष पुष्कर गौतम र केन्द्रीय उपाध्यक्ष उत्तर कुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। त्यस्तै जिल्ला सचिव सुक्रि बम्जन, कोषाध्यक्ष हरि बहादुर खड्का, वडा नं. ५ का संयोजक विशेश्वर पाण्डे, नगर संयोजक गोपाल श्रेष्ठ, भूपू संघका वर्तमान सचिव केदार देवकोटा लगायत विभिन्न वडाका संयोजक तथा आजीवन सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा जिल्ला संयोजक वाशुदेव श्रेष्ठकी आमाको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने त्यसपछि सहभागीहरूबीच नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिएको थियो। कार्यक्रम जिल्ला सचिव बम्जनको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय वरिष्ठ उपाध्यक्ष गौतमले परिषद् केवल नामका लागि नभई पूर्व सुरक्षाकर्मीहरूको वास्तविक सहारा बन्न स्थापना भएको बताउनुभयो। उहाँले सदस्यहरूको हक–हित सुनिश्चित गर्न तथा राज्यबाट प्राप्त सेवा–सुविधामा पहुँच दिलाउन संस्था निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, विभिन्न सुरक्षा निकायबाट सेवा निवृत्त भएका पूर्व सुरक्षाकर्मीहरूलाई एउटै छातामुनि ल्याएर संगठनलाई बलियो बनाउने उद्देश्य रहेको स्पष्ट पार्नुभयो।

केन्द्रीय उपाध्यक्ष उत्तर कुमार श्रेष्ठले परिषद् पूर्ण रूपमा गैर–राजनीतिक संस्था रहेको उल्लेख गर्दै सामाजिक कार्यमार्फत पूर्व सुरक्षाकर्मीहरूको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। साथै, प्राकृतिक विपद् तथा राष्ट्रिय संकटका बेला अग्रपंक्तिमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै सदस्य बलबहादुर विश्वकर्माले संगठनलाई सशक्त बनाउँदै शहरदेखि गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। पत्रकार बुद्ध कुमार आछामीले शुभकामना दिने क्रममा पूर्व सुरक्षाकर्मीलाई सुरक्षा गार्डको रोजगार सम्बन्धी क्षेत्रमा देखिएको अनियमितता अन्त्य गर्दै नेपाल सरकार तोकेको कम्तीमा पनि न्यूनतम पारिश्रमिक सुनिश्चितताको लागी पहल गर्न सुझाव दिनु भयो ।
वक्ताहरूले पूर्व सुरक्षाकर्मीहरूको हक–हित संरक्षण, सेवा–सुविधामा सहज पहुँच, पारदर्शी र सक्रिय संगठन निर्माण तथा समाज सेवामा अग्रसर हुनुपर्ने विषयमा जोड दिएका थिए। कार्यक्रमले संगठन विस्तार, समन्वय वृद्धि र नयाँ पुस्तालाई जोड्दै दीगो विकासतर्फ अघि बढ्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको समापन गर्दै आयोजकहरूले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण पूर्व सुरक्षाकर्मी तथा आम नागरिकमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका थिए।


