शिकारका क्रममा बन्दुक पड्किँदा एक जनाको मृत्यु
मकवानपुर, मंसिर २९
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपाखेरा जंगलमा शिकार खेल्ने क्रममा बन्दुक अनियन्त्रित रूपमा पड्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ बलुभञ्ज्याङका ५० वर्षीय सेते थिङ रहेका छन्। शिकारका लागि जंगलमा गएका दुई जनामध्ये साथीले बोकेको बन्दुक पड्किँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार सेते थिङ र उनका साथी राक्सिराङ गाउँपालिका–८ का गोपाल ब्लोन शिकारका लागि एक–एक थान बन्दुक बोकेर जंगल गएका थिए। शिकार गर्ने क्रममा झाडीमा चिप्लिएर लड्दा ब्लोनको बन्दुक अनियन्त्रित रूपमा पड्किएको र सोही गोली लागेर सेते थिङको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि प्रहरीले ब्लोनलाई नियन्त्रणमा लिएको छ भने प्रयोग भएका दुवै थान बन्दुक बरामद गरिएको डीएसपी बोगटीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


