सिन्धुलीमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते
सिन्धुली,मंसिर ८-
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झागाझोलीस्थित बी.पी. राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
आज दिउँसो करिब १:१५ बजे नेपालथोकबाट रातामाटातर्फ आउँदै गरेको बा ८७ प ९३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सिन्धुलीको सुनकोशी गाउँपालिका–२ निवासी २२ वर्षीय किशोर माझी घाइते भएका छन्। उनको शरीरमा बाहिरी तथा भित्री चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेलाई स्थानीयवासीको सहयोगमा रातामाटास्थित प्रधान मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दिउँसो २:३० बजे धुलिखेलतर्फ पठाइएको थियो। धुलिखेल अस्पताल पुग्दा चालकको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ।
घाइतेको उपचारमा उनका बुबा संगै रहेका छन् । सिन्धुलीको वि.पी. राजमार्गमा यस्ता दुर्घटना प्राय हुने गरेको छ । यस निग्रानीका लागी सम्बन्धीत निकायले अझ ध्यान दिनु पर्ने स्थानीयहरुको माग रहेको छ ।


