गाउँघरका आवाज

सिन्धुलीमा जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न,

सिन्धुली, फागुन १ – जनयुद्ध दिवसको अवसरमा सिन्धुलीको मरिण गाउँपालिका स्थित शहीद स्मारकमा विशेष कार्यक्रम गरी दिवस भव्य रूपमा मनाइएको छ। कार्यक्रमअन्तर्गत शहीदहरूको शालिकमा अविर तथा दोसल्ला अर्पण गरिएको थियो भने शहीदहरूको सम्मान र सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

आयोजित सभामा नेपाल कम्युनिष्ट पार्टी का केन्द्रीय सदस्य तथा आगामी निर्वाचनमा संविधानसभा सदस्यका लागि सिन्धुली क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार लेखनाथ दाहाल, केन्द्रीय सदस्य प्रकाश श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य काजीमान थिङ, उत्साहा श्रेष्ठ लगायत सिन्धुली र मरिण क्षेत्रका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य राजन दाहालले जनयुद्धको उपलब्धि र वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखे। उनले भने,
“आजकै दिन सुरु भएको जनयुद्धको बलमा गणतन्त्र आयो, केन्द्रीकृत राज्य व्यवस्था खारेज गरी संघीयता स्थापित भयो। समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता र दलित, महिला, जनजाति तथा अन्य सीमान्तकृत समुदायका अधिकार संविधानमा सुनिश्चित भए। यी उपलब्धिका लागी हाम्रा थुप्रै प्रियजनहरूको बलिदान जोडिएको छ।

दाहालले मरिण गाउँपालिकाबाट मात्रै ५३ जना शहीद भएको उल्लेख गर्दै उनीहरूको बलिदानप्रति सम्मान व्यक्त गरे। साथै उनले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने,
“गणतन्त्र, संघीयता र समावेशीताजस्ता उपलब्धिलाई अस्वीकार गर्ने केही राजनीतिक शक्तिहरूले यी उपलब्धिलाई कमजोर बनाउने प्रयास गरिरहेका छन्। देशमा मौलाएको भ्रष्टाचार, तस्करी र बेथिति पनि यही अस्थिरताका बीचमा पलाएको हो। यसको विरुद्ध लड्ने शक्ति नेपाली कम्युनिष्ट पार्टी बनेको छ, र हामी निरन्तर संघर्षमा रहनेछौं।”

आगामी निर्वाचन सन्दर्भमा बोल्दै उनले आफू सिन्धुली क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार रहेको जानकारी दिँदै भने,
“अघिल्लो कार्यकालमा मैले यही क्षेत्रमा धेरै विकासका कामहरू सुरु गरेको छु। ती अधुरा कामहरू पूरा गर्न जनताले मलाई पुनः अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु। तारा चिन्हमा मतदान गरी संसदमा पठाउनुहुनेछ भन्ने आशा गरेको छु।”

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य काजीमान थिङले शहीदहरूको योगदानलाई मार्गदर्शनका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले भने,
“शहीदहरूको रगतले लेखिएको इतिहास हाम्रो मार्गदर्शन हो। हामीले समानता, न्याय र सम्मानको समाज निर्माण गर्नु नै शहिदहरुको  साँचो  श्रद्धाञ्जली हो । जबसम्म हरेक नागरिकले अवसर, अधिकार र सम्मानको अनुभूति गर्दैन, तबसम्म त्यो इतिहासले बलिदानले हामीलाई निरन्तर प्रश्न गरिरहन्छ। त्यसैले आजको हाम्रो प्रतिबद्धता—त्यो इतिहासलाई जीवन्त राख्दै न्यायपूर्ण र समावेशी समाज निर्माण गर्नु हो।”

कार्यक्रमको अन्त्यमा सहभागीहरूले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण र वीर शहिदहरु अमर रहुन, वीर शहिद लाल सलाम भन्दै नाराबाजी गर्दै गणतन्त्र, संघीयता र समावेशी व्यवस्थालाई सुदृढ बनाउने संकल्प व्यक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button