सिन्धुलीमा छत्र कुमारी कार्कीको हत्यारा पक्राउ

सिन्धुली, २०८२ कार्तिक २७ —
सिन्धुलीको तीनपाटनमा घाँटी कसेर हत्या भएकी छत्र कुमारी कार्की (थापा) को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सुरज भन्ने सूर्यबहादुर कामी ३१ वर्षीय र २० वर्षीय निरन भन्ने टंकबहादुर कामीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। उनीहरु दुबै जना दुधौली नगरपालिका–१३ सिन्धुलीका हुन् ।
असोज १७ गते दिउँसो करिब १२ बजे तीनपाटन–२ पैरे निवासी महेन्द्र बहादुर थापाकी श्रीमती छत्र कुमारी अचानक सम्पर्कविहीन बनेकी थिइन्। परिवारका तिलक बहादुर लकाईले १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा निवेदन दिएपछि प्रहरीद्वारा हुलिया परिपत्र जारी गर्दै खोजतलास सुरु गरिएको थियो।
छत्र कुमारीलाई असोज २१ गते तीनपाटन–१ सिसौघारीमा घाँटीमा सल कसेको अवस्थामा उनको शव भेटियोकव थियो ।
पोष्टमार्टम रिपोर्टमा छत्र कुमारीको मृत्यु घाँटी कसेर भएको पुष्टि भएको जनाएको छ ।
मानवीय सूचना तथा प्राविधिक विश्लेषणका आधारमा प्रहरीले मुख्य आरोपी सूर्यबहादुर कामीलाई दाङ लमही बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेका छन्।
अनुसन्धानको क्रममा पटक–पटक बयानबाजीन तथा संलग्नताको संकेत पाएपछि प्रहरीको अतिरिक्त टोलीले उनको भान्जा टंकबहादुर कामीलाई पनि दुधौली–९ बाट पक्राउ गरेको हो।
मृतकले प्रयोग गर्दै आएको मोबाइल फोन सूर्यबहादुरले लुकाएर फालेको स्थानबाट प्रहरीले बरामद गरेको छ।
सूर्यबहादुर कामीको हकमा अदालतले ७ दिन थुनछेक म्याद थप गरेको छ। घटनामा संलग्नता र उद्देश्यमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले आवश्यक प्रमाण संकलन तथा बयान प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ।



