पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक, पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन
काठमाडौं‚३०
खड्क प्रसाद शर्मा वलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएका उनको फागुन २९ गते बिहान करिब १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

परिवारका अनुसार मोहन प्रसाद ओली केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए। यसअघि पनि फोक्सोसँग सम्बन्धित समस्याका कारण काठमाडौंस्थित अस्पतालमा उनको उपचार गरिएको थियो।
मोहन प्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। उनी सामान्य जीवनशैली मन पराउने व्यक्ति मानिन्थे। काठमाडौंमा बसाइ भए पनि उनी प्रायः आफ्नो पुर्खौली गाउँमै बस्न रुचाउने र स्थानीय जडीबुटी तथा औषधिजन्य वनस्पतिबारे विशेष रुचि राख्ने गरेको परिवारका सदस्यहरूले बताएका छन्।
पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित निवासमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि अन्त्येष्टि संस्कारका लागि काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
पछिल्लो समय पूर्वप्रधानमन्त्री ओली व्यक्तिगत र राजनीतिक रूपमा पनि विभिन्न कठिन परिस्थितिहरूबाट गुज्रिरहेका थिए। २०८२ भदौ २२ र २३ मा भएको युवाकेन्द्रित आन्दोलनपछि उनको निवासमा आगजनी भएको थियो र त्यसपछि उनले पदबाट राजीनामा दिनुपरेको थियो।
यस्तै हालै सम्पन्न निर्वाचनमा पनि उनको दल नेकपा (एमाले) ले अपेक्षित सफलता हासिल गर्न सकेन। यी सबै घटनाक्रमबीच पिता मोहन प्रसाद ओलीको निधनले उनलाई थप व्यक्तिगत पीडा थपिएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
राजनीतिक दलका नेता, कार्यकर्ता तथा विभिन्न व्यक्तित्वहरूले मोहन प्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।



