सुनकोशी–५ मा बोलेरो दुर्घटना, १५ जना घाइते

सिन्धुली, २२ माघ —
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५ स्थित खहरे गाउँमा रहेको सहिदगेट–अमारे भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
कुलपूजामा सहभागी हुन अमारेबाट गाउँखर्कतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ८५०० नम्बरको सिंगल क्याब बोलेरो बिहीबार साँझ करिब ५ः४५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा परेको बोलेरो सुनकोशी गाउँपालिका–५ निवासी २५ वर्षीय मनोज नेपालीले चलाइरहेका थिए। दुर्घटनाका क्रममा गाडीमा सवार सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलको कमाण्डमा १० जनाको टोली र प्रहरी चौकी रातामाटाबाट प्रहरी सहायक निरीक्षक टेमप्रसाद तिमल्सिनाको नेतृत्वमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि खुर्कोटतर्फ पठाइएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा परेको सवारी साधन हाल घटनास्थलमै रहेको छ। पछिल्लो जानकारीअनुसार दुर्घटनामा घाइते भएका १५ जनाको खाल्टे स्थित आत्मीय अस्पतालमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ।




