ताजा समाचार

सिन्धुलीमा पहिरो र बाढीले बीपी राजमार्ग अवरुद्ध, सवारी साधन होल्ड

सिन्धुली, ३१ ,असार — बीपी राजमार्गको भकुण्डेवेसी–नेपालथोक खण्डमा तीन स्थानमा मंगलबार राति आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेपछि सिन्धुली प्रहरीले यात्रु र सवारी साधनको सुरक्षाका लागि होल्ड गरेको छ।

प्रहरीका अनुसार काभ्रेको माम्ती खोलामा आएको बाढीले सडक कटान गरेको छ भने पिन्थली र बीरुवाडाँडामा लेदो सहितको पहिरो खसेको छ। सोही कारण बीपी राजमार्ग हुँदै राजधानीतर्फ जाने सवारी आवागमन रोकिएको हो।

सदरमुकाम सिन्धुलीमाडी, हिरापानी चेकपोस्ट, खुर्कोट लगायत पहिरोको जोखिम कम भएका स्थानहरूमा सयौंको संख्यामा यात्रु तथा सवारी साधनलाई होल्ड गरिएको प्रहरीले जनाएको छ।

सडक अबरुद्ध भएपछि काठमाडौंतर्फ जाने सवारी तथा मालबाहक ट्रकहरू लामो जाममा परेका छन् भने यात्रुहरू अलपत्र परेका छन्। बीपी राजमार्गसँगै, मध्येपहाडी र मदन भण्डारी लोकमार्ग हुँदै आएका सवारी साधन पनि रोकिएका छन्।

प्रहरीका अनुसार जेसीभी प्रयोग गरी सडक मर्मत तथा लेदो पन्छाउने काम भइरहेकोले यातायात सुचारु हुन केही समय लाग्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button