ताजा समाचार

सिन्धुलीमा गर्मीको प्रकोपले जनजीवन प्रभावित

सिन्धुली, असोज – पछिल्लो केही हप्तादेखि सिन्धुलीमा गर्मीको असामान्य वृद्धि र निरन्तररुप लिदा जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुलीको केही दिन देखी यताको  तापक्रम ३० देखि ३७ डिग्री सेल्सियससम्म पुगेको छ, जसले गर्दा दिनभर चर्को घाममा मानिसहरूलाई घर बाहिर निस्कन कठिन भइरहेको छ। स्थानीयहरूका लागि यो गर्मीको प्रकोपले स्वास्थ्य, व्यवसाय, र कृषि क्षेत्रलाई गहिरो असर पारेको छ।

         अत्यधिक तापक्रमका कारण बालबालिका र वृद्धवृद्धाहरू विशेष जोखिममा परेका छन्। गर्मीको कारणले घमौरा, खटिरा, ज्वरो, र अन्य छालासम्बन्धी रोगहरू बढ्दै गएका छन्। अस्पतालहरूमा यी समस्याहरूका बिरामीहरूको चाप बढेको छ। कतिपय स्थानीयहरूले गर्मीका कारण काम गर्न नसक्ने अवस्था आएको बताउँदै कामकाज र दैनिक कार्यमा धेरै कठिनाइ भोग्नु परेको गुनासो गरेका छन्।

 अत्यधिक गर्मीका कारण सर्पहरू पनि जमिनबाट बाहिर निस्किने डरले सर्पदंशको त्रास मानिसहरूमा बढेको छ । गर्मीका समयमा सर्पको आक्रमणबाट सुरक्षित रहन र अन्य स्वास्थ्य समस्याबाट जोगिन चिकित्सकहरूले सावधानी अपनाउन सल्लाह दिएका छन् ।

बिहान देखि बेलुका सम्मको चर्को घामको कारण गर्मीको तीव्रताले विद्यालय जाने बालबालिकाहरुलाई विद्यालय जान र पढ्न पाठन गर्न कठिन भएको  छ। विद्यालयहरूले गर्मीको समयमा पंखाको व्यवस्था गरे पनि पंखाले तातो हावा फ्याकेको कारण वालबालिकाको स्वास्थ्यमा झन समस्या निम्त्याएको छ ।

नेपालीहरुको मुख्य पर्व दशैं नजिकिएसँगै मानिसहरू किनमेलका लागि हाट बजार जान उत्सुक भए पनि अत्यधिक गर्मीका कारण बजारमा भीडभाड घटेको छ। व्यापारीहरूले गर्मीले गर्दा कारोबारमा गिरावट आएको गुनासो गरेका छन्। सामान्यतया दशैंको तयारीमा हुने जोश र उत्साहमा यस वर्ष गर्मीले गिरावट आएको ब्यापारीहरु बताउछन् ।

डेढ साता यता पानी नपरेको कारणले सिन्धुलीको कृषि क्षेत्र गम्भीर संकटमा छाएको छ । धानखेतहरू सुकेका छन्। स्थानीय किसानहरूले बर्ष दिन खान उब्जाउने अन्नको बाली धानलाई फल लाग्ने बेलामा  सिंचाइ गर्न नसकेपछि चिन्तीत बनेका छन् ।

एक स्थानीय किसानले भने, “धान रोप्ने बेलामा राम्ररी पानी परेन, अहिले पनि धानलाई पानी नपुग्दा सबै मिहिनेत खेर जाने डर छ। वर्षभरिका लागि उत्पादन गर्न सकेनौं भने ठूलो समस्या आउनेछ।” किसानहरूले सरकारलाई सिंचाइ प्रणालीको तत्काल समाधान गर्न आग्रह गरेका छन्,

सिन्धुलीमा गर्मीको प्रकोपले जलवायु परिवर्तनका गम्भीर संकेत देखाइरहेको छ। मौसम विज्ञहरूका अनुसार, तापक्रम अझै केही दिनसम्म बढिरहने सम्भावना रहेको छ, जसले जनजीवन र कृषि क्षेत्रमा थप संकट निम्त्याउन सक्छ।

विशेषज्ञहरूले जलवायु परिवर्तनका कारण गर्मीका यस्ता अप्रत्याशित घटना सामान्य हुन सक्ने चेतावनी दिएका छन्। त्यसैले, दीर्घकालीन रूपमा जलवायु अनुकूलनका लागि सरकारी निकायहरू र जनसमुदाय मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button